एउटा हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला ? अवश्य, बाँदर नै पहिलो हुन्छ । नेपालको (उज्जवल भविष्यका?) लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त ?
राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो ।
काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । आज हामी दोबाटोमा छौँ, अल्मलिएका छौँ । यी दलहरूले बुझेको उही पुरानै बाटोमा अगाडि बढ्दा देश निरङ्कुशता र तानाशाहीतर्फ जान्छ जुन पछाडि फर्कने बाटो हो । अब अघि बढ्ने (उकालो लाग्ने?) बाटो लिन जरूरी छ । अघि बढ्ने बाटो हरेक नागरिकको समतामूलक समृद्धि सुनिश्चित गरी लोकतन्त्र संरक्षण गर्नु हो । त्यो बाटो लिन भिन्न किसिमको डीएनए भएको नेतृत्त्व नभई हुँदैन ।
समतामूलक समृद्धिका लागि चाहिने “समबृद्धि डीएनए” तानाशाही विरुद्ध लड्न काम लागेको “मुक्ति डीएनए” भन्दा फरक र विकसित हुन्छ । ब्याक्टेरियाको प्रतिरोध गर्ने एन्टीबायोटिकको बनौट र काम गर्ने तरिका ग्यास्ट्रिक निको पार्ने एन्टासिड जस्तो हुँदैन । अहिले नेपालको अस्तित्व सङ्कटमा छ । यदि हाम्रै जीवनकालमा नेपाललाई अघि बढाउन र आर्थिक समृद्धि हासिल गर्न सकिएन भने विगतमा गरिएका अनेक सङ्घर्ष र त्यागबाट प्राप्त स्वतन्त्रताको अर्थ नरहने दिन आउन सक्छ ।
चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भइसक्यो । भारत केही वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दैछ र यी दुईको बीचमा हामी रहेका छौं । कल्पना गर्नुहोस् – नेपाल आजको अमेरिका र क्यानडाबीच रहेजस्तै हुनेछ । अझ, ४ मध्ये ३ नेपाली ४० वर्षभन्दा कम उमेरका छन् । यी युवा यो देशलाई समृद्ध बनाउन दिनरात काम गर्नसक्छन् । आज मध्यपूर्वदेखि पूर्वी एसिया, युरोप, उत्तर अमेरिका र अस्ट्रेलिया गई यी ३० लाख युवाले आफ्नो शक्ति खर्चनु परिरहेको छ । ती देश बनाउने सीप भएका युवाहरुले नेपालमा काम गर्ने राम्रो माहोल भए नेपाल फर्की त्यो अनुभवलाई यहाँ प्रयोग गर्न सक्नेछन् । त्यसमाथि संसारभर उदाहरणीय र विशिष्ट भनी चिनिएको हाम्रो संस्कृति जोड्ने हो भने नेपाललाई वास्तविकरूपमै ‘समृद्धि, सहिष्णुता र सुन्दरता’को केन्द्रका रूपमा निर्माण गर्नसक्ने लोभलाग्दो स्थितिमा हामी छौं । नेपाललाई विश्वकै केन्द्रविन्दु बनाउन सकिन्छ ।
समृद्धिको ढोका खोलेर सबै नेपालीको समवृद्धि सुनिश्चित गर्नका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्व चुन्नुको विकल्प छैन । यस्तो नेतृत्वमा कस्तो खाले डीएनए हुनुपर्छ त ? यस किसिमको रूपान्तरण ल्याउने –
१. गरिबी —> समृद्धि
नेपालका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्वले उद्यम र नवीनतालाई प्रोत्साहन गर्ने समाज बनाउन सक्नुपर्छ । देशमा समवृद्धिको वातावरण बनाउनका लागि हाम्रो भूराजनीतिक अवस्थाको भरपूर सदुपयोगमा जोड दिनुपर्छ । हरेक आम नेपालीको प्रथम चाहना आफू आत्मनिर्भर भई आफ्नो परिवारको भविष्य उज्ज्वल बनाउनु हो । नेपाली युवा वर्षौंसम्म अाफ्नो परिवारको स्नेह र साथ छाडेर विदेशी भूमिमा दुःख गर्न चाहँदैनन् । यस शताब्दीमा देशको नेतृत्त्व गर्न चाहने राजनीतिक शक्तिले अब पुरानो विचारधारालाई रूपान्तरण नगरी हुँदैन । समकालीन मुद्दाप्रति हामीले व्यक्त गर्ने धारणा हरेक नेपालीले मर्यादित, समृद्ध र शान्तिपूर्ण जीवन निर्वाह गर्न पाऊन् भन्ने लक्ष्यका साथ हुनुपर्छ । अहिलेको राजनीतिक नेतृत्त्वले नेपाललाई समृद्ध बनाउने उपाय खोज्नुको साँटो देश किन गरीब छ भन्ने विमर्शमा बढी समय खर्चिरहेको छ ।
२. नातावाद —> दक्षता
डोर बहादुर विष्टले ‘भाग्यवाद र विकास’मा औँल्याएझैँ चाकडीवादी र भाग्यवादी सोच पुरानो पुस्तामा एक हदसम्म यथावत नै छ। तर नयाँ पुस्ता (८२% भन्दा बढी नेपाली ४५ वर्षभन्दा कम उमेरका छन्) नातावादको चक्रव्यूह तोड्न उत्सुक छ । ३० वर्षअघि मात्रै ४ मध्ये १ नेपालीमात्र साक्षर थिए भने हाल ४ मा ३ नेपाली साक्षर छन् । अहिले लगभग हरेक नेपाली दुनियाँसङ्ग जोडिएको छ (मोबाइल प्रयोगकर्ता जनसङ्ख्याको झन्डै १००%)। विकट गाउँभेगका बासिन्दाले पनि सात समुद्र पारीका ग्राहकसङ्ग व्यापार गर्न थालिसके । खाँचो केवल यस्ता कार्यलाई टेवा दिने नेतृत्वको छ । २१ औं शताब्दीको विश्व संस्कृति र दक्षतालाई आधार मान्दै विविधतालाई अङ्गाल्नु हो । हाम्रो एकता, निष्ठा र समानता विपरीत उभिएको भाग्यवादी प्रणालीलाई जरैदेखि उखेलेर फ्याँक्न जरूरी छ । यसका लागि नातावादको साटो दक्षतालाई प्राथमिकता दिने र विविधताको सौन्दर्य बुझ्ने विवेकशील नागरिकहरूको सक्रिय जमात चाहिन्छ ।
३. दोहनकारी संरचना —> समावेशी संरचना
नेपालमा आम नागरिकको लागि सेवक शासन प्रणाली चाहिएको छ । नेपाल अहिलेसम्म दोहनकारी राजनीतिक र आर्थिक संरचनाबाट शासित भएको छ । यी संरचनाले सीमित वर्गको फाइदाको लागि आफ्नो नागरिकहरूबाट आय, धन र शक्ति लिने गरेको छ । नेपाललाई समावेशी संरचना किन आवश्यक छ भन्ने प्रश्नको जवाफमा Why Nations Fail पुस्तकको यो अंश सान्दर्भिक छ ।
“दोहनकारी आर्थिक संस्थाहरू धेरैबाट स्रोतहरू खिच्नको लागि बनाइएका हुन्छन् र तिनीहरूले सम्पत्ति अधिकारको रक्षा वा आर्थिक गतिविधि लागि आवश्यक पर्ने प्रोत्साहन प्रदान गर्न असफल हुन्छन् । तर समावेशी आर्थिक संस्थाहरूले सम्पतिको अधिकार लागु गर्छन्, लगानीको लागि सबैको लागि उही तहको मैदान तयार पार्छन् र नयाँ प्रविधि तथा सीपहरूमा लगानी गर्न प्रोत्साहन गर्छन् । र आर्थिक उन्नतिका लागि शोषक संस्थाहरूभन्दा समावेशी संस्थाहरू बढी अनुकूल हुन्छन् । समावेशी आर्थिक संस्थाहरू समावेशी राजनीतिक संस्थाहरूबाट समर्थित हुन्छन् र तिनीहरूलाई पनि समर्थन गर्छन् । समावेशी राजनीतिक संस्थाले बहुलवादी तरिकाले व्यापक राजनीतिक शक्ति वितरण गर्नुका साथै कानून र व्यवस्थाको स्थापनाको लागि एक हदसम्मको राजनीतिक केन्द्रीकरण हासिल गर्छन् जुन सुरक्षित सम्पतिको अधिकार सुनिश्चितताको लागि र समावेशी बजार अर्थव्यवस्थाको लागि आवश्यक हुन्छ ।”
सही डीएनए भएको नेतृत्वले नागरिकसङ्ग सहकार्य गरी समतामूलक समृद्धि सुनिश्चित गर्ने समावेशी आर्थिक तथा राजनीतिक संरचना निर्माण गर्नेछ ।
४. भाग्यवाद —> युवा गतिशीलता
असफल पात्रहरूलाई बारम्बार शासन गर्न दिई फरक नतिजाको आशा गर्नु मूर्ख्याइँ हो । तर यो नेपालमा रीत नै बनिसकेको छ । यसको कारण हाम्रो भाग्यवादी सांस्कृतिक विश्वास हो जसले गर्दा हामी हाम्रो भाग्य यस्तै नै रहेछ र जबसम्म अरू कुनै शक्तिशाली पात्रले हामीलाई हालको बेथितिबाट बचाउँदैन हाम्रो नियति नै यही हो भन्ने ठान्छौं । अपेक्षित काम गर्न नसकेका शासकहरूमाथि हाम्रो भाग्यवादी निर्भरताले गर्दा देश कमजोर, हतोत्साहित र नैतिकताहीन बनेको छ। नयाँ पुस्ता यो चक्रव्यूह तोड्न अग्रसर छ । ४५ वर्ष मुनिका ८२% नेपालीले आफ्नो भाग्य आफै बनाउन नयाँ तरिका अपनाइरहेका छन्। आज पनि धेरै समृद्ध राष्ट्रहरूले हाम्रा युवा, हाम्रा स्थान, हाम्रा प्रतिभा र काम गर्ने शैली खोज्छन् । त्यसैले हाम्रा प्रतिभाशाली युवाहरू विभिन्न विकशित राष्ट्रहरूमा फैलिएर काम गरिरहेका छन्।
सही डीएनए भएको नेतृत्व चुनेमा मात्र त्यसले गतिशील युवालाई साथ लिएर नेपाललाई समतामूलक समृद्धितर्फ नेतृत्व गर्नसक्छ ।
पुराना शक्तिहरूको भन्दा पूरै फरक डीएनए भएको समूहको उदाहरणका रूपमा विवेकशील साझा पार्टीलाई लिन सकिन्छ। माथि प्रष्ट्याइएको रूपान्तरण सार्थक गर्दै २१ औं शताब्दीमा नेपाललाई समृद्ध बनाई गणतन्त्र संस्थागत गर्नको लागि यसको निर्माण भएको हो। यसका प्रणाली, मूल्यमान्यता र संस्कारको रूपरेखा नेपालको लागि नैतिक, सेवक नेतृत्व निर्माण गर्नु र २० औं शताब्दीका विचारधारालाई पछाडि छोड्दै २१ औं शताब्दीको मान्यता अपनाउन बनाइएका छन् ।
आखिर के छ त यो डीएनएमा ? पहिलो, यसले निष्ठा, उत्कृष्टता, साहस, विनम्रता, समानुभूति र पारदर्शिता जस्ता दृढ नैतिक मानवीय मान्यतालाई आत्मसात गरिरहेकका विवेकशील नागरिकहरूका अर्थपूर्ण जमातलाई गोलबद्ध गर्ने चेष्टा गरेको छ। दोस्रो, यसले हाम्रो समाजलाई उद्यमशील, नवीनता उन्मुख र आत्मनिर्भर बनाउन कठोर परिश्रम गर्छ । समाजमा त्यो रूपान्तरण आएपछि दुई बलिया छिमेकीसँग प्रभावकारी ढङ्गले सम्बन्ध विस्तार गर्न र राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सकिनेछ। तेस्रो, यो सेवक सरकार निर्माणमा केन्द्रित रहनेछ जसले नेपालीहरूलाई आफूले चाहेको क्षेत्रमा निर्धक्कसँग काम गर्न सुरक्षित वातावरण ग्यारेन्टी गर्नेछ । र अन्त्यमा, यस हरफमा उल्लेख गरिएका तीन सुधारलाई निरन्तर रूपमा नागरिक, सामाजिक र सरकारी स्तरमा कार्यान्वयन गर्दै नेपाल राज्यलाई “नागरिकको साथी” बनाइनेछ । साथै यसले सबै नेपालीलाई आगामी केही दशकमा समतामूलक समृद्धि दिलाउनेछ ।
२१ औं शताब्दी सापेक्ष नेतृत्व भनेकै पूर्व तयारी गर्ने नेतृत्व हो । नेपाल निकट भविष्यमा विश्वका केन्द्रबिन्दूहरू मध्ये एक मा पर्नेछ (संसारकै समृद्ध चीन-भारत बीच) भन्ने कुरामा शङ्का नरहोस् । हामीले ध्यान दिनुपर्ने कुरा भनेको जस्तो तयारी हुन्छ त्यस्तै नतिजा प्राप्त हुन्छ । तसर्थ नेपालको उज्ज्वल भविष्य सुनिश्चित गर्नका लागि २१ औं शताब्दी सापेक्ष नेतृत्त्व निर्माण गरौं । नेपालको भविष्य अब तपाईंको हातमा छ । परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ। तपाईं कसलाई आफ्नो भविष्य सुम्पन चाहनुहुन्छ ?